सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १० बैशाख २०८३ / Thursday, 23 April 2026

कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले थप दुई आंगिक क्याम्पस सञ्चालन गर्ने

प्रकाशित समय: शनिवार, ०९ : ०६ बजे मंसिर २९ गते



कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले  थप दुई आंगिक क्याम्पस सञ्चालन गर्ने

भरतपुर, २९ मङ्सिर कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले यही शैक्षिक सत्रमा थप दुई आंगिक क्याम्पस सञ्चालन गर्ने भएको छ । उदयपुरको कटारी र महोत्तरीको बर्दिवासमा आंगिक क्याम्पस सञ्चालनको तयारी गरेको उक्त विश्वविद्यालयले जनाएको हो ।

 

उदयपुरको कटारीमा वन सङ्कायको कार्यक्रम र महोत्तरीको बर्दिवासमा कृषि सङ्कायको कार्यक्रम सञ्चालनका लागि विद्यार्थी भर्ना आह्वान गरिएको विश्वविद्यालयका रजिष्ट्रार प्राध्यापक डा मनराज कोलाक्षपतिले जानकारी दिनुभयो । क्याम्पस सञ्चालनका लागि उदयपुरको कटारीमा तीन बिघा जग्गा र महोत्तरीको बर्दिवासमा आठ बिघा जग्गा विश्वविद्यालयको नाममा आइसकेको छ भने सुष्मा मेमोरियल ट्रस्टको २७ बिघा जमीन नामसारी गर्नेे प्रक्रियामा रहेको उहाँको भनाइ थियो ।

 

यसै शैक्षिक सत्रमा नै कृषिका थप तीन आंगिक क्याम्पस सञ्चालन गर्ने कामसमेत तीव्र पारिएको रजिष्ट्रार कोलाक्षपतिले बताउनुभयो । बाँकेको खजुरा र रोल्पाको माडीचौरमा कृषिका क्याम्पस सञ्चालनका लागि जग्गा प्राप्त भइसकेको छ भने बाँकेको खजुरामा नौ बिघा र रोल्पाको माडीचौरमा ६० रोपनी जग्गा प्राप्त भएको छ ।

 

विश्वविद्यालयले आंगिक क्याम्पस सञ्चालनका लागि तराईमा आठ बिघा र पहाडमा १०० रोपनी जग्गा हुनुपर्ने मादपण्ड तोकेको छ । उक्त विश्वविद्यालयले यसअघि चार आंगिक क्याम्पस सञ्चालनमा ल्याइसकेको छ ।

 

कास्कीको पुरनचौर, सिन्धुलीको कपिलाकोट, कैलालीको टीकापुर, धनकुटाको पाख्रीवासमा आंगिक क्याम्पस सञ्चालनमा आइसकेका हुन् । विश्वविद्यालय सभाले १० वटा आंगिक क्याम्पस सञ्चालन गर्ने निर्णय गरेकामा कम्तीमा पनि सङ्घीय संरचनाअनुसार एक प्रदेशमा एक आंगिक क्याम्पस सञ्चालन गर्ने नीति रहेको कुलपति प्रा डा ईश्वरीप्रसाद ढकालले बताउनुभयो ।

 

यसै शैक्षिक सत्रदेखि स्नातक तहमा एग्री इञ्जिनीयरिङ र स्नाकोत्तर तहमा डेरी साइन्स एण्ड टेक्नोलोजी विषयको कार्यक्रमसमेत थप गरेको ढकालले जानकारी दिनुभयो ।