सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, १४ बैशाख २०८३ / Monday, 27 April 2026

पाल्पामा जिप दुर्घटना,पाँच जनाको मृत्यु

प्रकाशित समय: शुक्रवार, ०९ : २१ बजे मंसिर २८ गते



पाल्पामा  जिप दुर्घटना,पाँच जनाको मृत्यु

२८ मंसिर, काठमाडौं । सुत्केरी लिएर फर्किंदै गरेको जीप पाल्पामा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । पाल्पाको जल्पाबाट बहादुरपुर जाँदै गरेको लु १ ज २६५३ नम्बरको जीप गएराति सात बजेतिर आर्गिडाँडा ओढारे भन्ने स्थानमा दुर्घटना भएको थियो ।

 

चार जनाको घटनास्थलमै र एक जनाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक अमृत भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार मृत्यु हुनेमा पाल्पाको माथागढी गाउँपालिका- ८ बस्ने अन्दाजी ३२ वर्षीया यानीसरा गाहा, वर्ष ४० की बुमा कुमारी दर्लामी, वर्ष ७१ का रेवतबहादुर जीसी, वर्ष २४ की कुनीसरा रुचाल र जीप चालक २० वर्षीय वीरेन्द्र राना छन् ।

 

रुचालको उपचार गर्न अस्पताल लैजाँदै गर्दा बाटोमै र अन्यको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा माथागढी गाउँपालिका-८ कै सुरेन्द्र मर्साङ्नी, देवसिंह राना, शान्ता रुचाल घाइते भएका छन् । शान्ताको तीन दिनकी छोरी भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

 

सुत्केरी भएकी शान्तालाई लिएर फर्किंदै गरेको जीप गएराति ७ बजेतिर दुर्घटना भएको हो । घाइतेहरुको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ ।

 

बिहीबार बिहान दाङमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो ।