सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १० बैशाख २०८३ / Thursday, 23 April 2026

विद्यालय शिक्षा स्थानीय तहलाई नदेऊ-शिक्षक महासङ्घ

प्रकाशित समय: शुक्रवार, ०७ : २५ बजे मंसिर १४ गते



विद्यालय शिक्षा स्थानीय तहलाई नदेऊ-शिक्षक महासङ्घ

काठमाडौँ, १४ मङ्सिर  नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा सञ्चालनको अधिकार स्थानीय तहलाई नदिन संविधान संशोधन हुनुपर्नेलगायत २६ सूत्रीय माग राखी आज राजधानीमा विरोध प्रदर्शन गरेको छ ।

 

प्रदर्शनीमार्गस्थित वाल्मीकि क्याम्पसअगाडिबाट ¥याली शुरु भई भृकुटीमण्डपमा पुगी कोणसभामा परिणत भएको कार्यक्रममा शिक्षक नेताहरुले आफूहरु र नेपाल सरकारबीच विगतमा भएको पेशागत र शैक्षिक मागहरु पूरा हुनुपर्ने बताएका छन् । महासङ्घका अध्यक्ष बाबुराम थापाले स्थानीय तह भर्खरै स्थापित भएको र यसको स्रोतसाधन र अनुभवका दृष्टिमा समेत विद्यालय तहको सञ्चालन र व्यवस्थापन गर्न ती तह तयार भइनसकेको बताउनुभयो ।

 

संविधानअनुसार माध्यमिक तह (कक्षा १ देखि १२ सम्म) स्थानीय तहको कार्यक्षेत्रमा राखिएको छ । उहाँले माविसम्म निःशुल्क र अनिवार्य हुनुपर्ने, शिक्षक सेवा आयोगलाई संवैधानिक बनाइनुपर्ने, आन्तरिक परीक्षा नदिएका वा अनुत्तीर्ण भएका अस्थायी शिक्षकलाई एकमुष्ट ‘गोल्डेन ह्याण्डसेक’ रकम दिइनुपर्ने बताउनुभयो ।

 

प्रदर्शनमा करीब २५ हजार शिक्षक सहभागी भएको दाबी गरिएको छ । प्रदर्शनका कारण आज काठमाडौँ उपत्यकाका सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएकामा यसको साटो यही मङ्सिर २९ गते शनिबार पढाइ गरिने महासङ्घले जनाएको छ । गत असोज १६ गते आन्दोलन घोषणा गरेको महासङ्घले यसअघि चरणबद्धरुपमा स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाइसकेको छ ।