सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १२ बैशाख २०८३ / Saturday, 25 April 2026

मुक्तकमैयाद्वारा आन्दोलन घोषणा

प्रकाशित समय: शुक्रवार, ०७ : १२ बजे मंसिर १४ गते



मुक्तकमैयाद्वारा आन्दोलन घोषणा

धनगढी, १४ मङ्सिर  सरकारले कमैया मुक्तिको घोषणा गरेको लामो समय भइसक्दासमेत पुनस्र्थापना कार्यले अझै पूर्णता नपाएपछि कैलालीका मुक्तकमैयाले आन्दोलनको घोषणा गरेका छन् ।

 

मुक्तकमैया पुनस्र्थापना आन्दोलन समितिले आज यहाँ पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेको हो । समितिले मुक्तकमैया शिविरको क्षेत्रभित्र बसोबास गरिरहेकालाई सोही स्थानमा पुनस्र्थापना गर्नुपर्ने, आयआर्जनका लागि मुक्तकमैया घुम्तीकोष सहकारीको माध्यमबाट सञ्चालन गरिनुपर्ने र मुक्तकमैया बस्तीमा नै पुगेर छुटेकाको तथ्याङ्क लिई परिचयपत्र दिनुपर्नेलगायत तीन बुँदे माग राखेको छ ।

 

जिल्ला भूमिसुधार कार्यालयले हालै जग्गा खरीद, निर्माण खर्च वा काठबापत रकम लिन बाँकी मुक्तकमैयालाई अन्तिम पटक भन्दै ३५ दिने सूचना जारी गरेको थियो । कार्यालयले उक्त सूचनामा तोकिएको अवधिभित्र सम्पर्क नगर्नेलाई लगतबाट समेत हटाइने भनेपछि मुक्तकमैयाले आपत्ति जनाएका हुन् ।

 

समितिका संयोजक फिरीराम चौधरीले ३५ दिने सूचना धेरैलाई जानकारी नभएको र हालसम्म पुनस्र्थापना हुन बाँकीमध्ये पाँच प्रतिशत पनि सम्पर्कमा नआएको बताउनुभयो । भूमिसुधारको तथ्याङ्कअनुसार कैलालीमा अझै एक हजार ६७९ पुनस्र्थापना गर्न बाँकी देखिएका छन् । कैलालीमा पहिचान भएका आठ हजार ९१० मुक्तकमैयामध्ये सात हजार ४१८ जनालाई सार्वजनिक जग्गा दिएर पुनस्र्थापना गरिसकिएको छ ।