ललितपुर महानगरपालिका वडा नम्बर २४ थापाखेलका भूकम्पपीडितहरूले अझै अनुदान नपाएको गुनासो गरेका छन्।
ललितपुर महानगरपालिका वडा नम्बर २४, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मानवअधिकार संजाल ललितपुरको संयुक्त आयोजनामा सामुदायिक भवनमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा भूकम्पपीडितहरूले समयमा अनुदान नपाएको, पहिलो किस्ता अनुदान लिएपनि दोस्रो किस्ता लिन झन्झट व्यहोर्नु परेको, भूकम्पपीडित भएर पनि अनुदान नपाएको र लाभग्राही सूचीमा नाम समेत नपरेकोकारण अनुदान लिनबाट बञ्चित हुनुपरेको जस्ता समस्या बताएका छन्।
त्यस्तै विभिन्न गुठीका नाममा जग्गा हुँदा राहत लिएर घर बनाउन समस्या परेको भूकम्पपीडितहरूको भनाइ छ।
स्थानीय जनक गिरीले पहिलो किस्ता वापतको रकम ५० हजार लिएपनि आफू बस्ने जमिन वम विकट गुठीको नाममा रहेका कारण अनुदान लिएर घर निर्माण गर्न अप्ठ्यारो परेको बताए।
उनीजस्तै धेरैको गुठीको जग्गा रहेका कारण अनुदान लिन समस्या परेको वडा अध्यक्ष दिनेश कार्कीले बताए।
२०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि तत्कालै दिइने राहत १०,०००/- रुपैया र न्यानो कपडाको लागि भनेर प्राप्त रकम रु १५,००० पाएका थिए राजेश महर्जनले पनि। पूर्णरुपमा घर भत्किएर बस्ने ठाउँ नभएका महर्जनले आफ्नो नाम भूकम्पपीडितमा ननिस्किएपछि गुनासोमा पनि उनले आफ्नो नाम टिपाए तर पछिल्लो समयसम्म पनि उनको नाम गुनासोमा नपरेपछि उनीजस्तै समस्या रहेका वडाका १३ जनाभन्दा बढी पीडितले मुद्दा हालेको जानकारी दिए।
कार्यक्रममा अधिकांश भूकम्पपीडितहरुले सरकारले छिटो सहज ढङ्गले थप अनुदान दिन र नाम छुटेकाहरुलाई प्रक्रिया पुर्याएर अनुदान वितरण गर्न माग गरेका थिए।

नेपाली कांग्रेसका वडा इकाई सभापति देवराज लामिछानेले भूकम्पपीडितहरुलाई राहत तथा अनुदान दिन सरकारी सरोकारवाला पक्षले ढिलासुस्ती गरेको र सर्वेक्षण गर्न हेलचक्राई गरेको बताए। उनले पीडितको गुनासा सम्बोधन गर्न राज्यले छिटो प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिए।
महानगरपालिका विपद् व्यवस्थापन महाशाखाका प्रमुख हरिस चन्द्र लामिछानेले वास्तविक भूकम्पपीडित अनुदान पाउनबाट नछुटुन् भनेर नगरपालिकाले पीडितका गुनासाहरु र उजुरी सम्बन्धित निकायमा पठाएको बताए। प्रमुख लामिछानेले भूकम्पपीडितहरूले बेलैमा राहत पाउन् भनेर नगरपालिकाले पिडितका पक्षमा कुनै कसुर बाँकी नराख्ने बताए।
महानगरपालिकाका वरिष्ठ इन्जिनियर रुद्र अधिकारीले भूकम्पपीडितहरूलाई नक्शापासमा सहजीकरण गरेको र नक्सापास गर्दा लाग्ने जरिवाना कम लगाएको बताउँदै घर निर्माण गर्दा आएका समस्यालाई निराकरण गर्दै लैजाने बताए।
गुठीका जग्गाभित्र घर बनाउन समस्या परेका भूकम्पपीडितहरुलाई नियमअनुसार सहजीकरण र सरलीकरण गरी सेवा प्रदान गर्ने गुठी संस्थान ललितपुर शाखाका प्रमुख शैलेन्द्र पौडेलले बताए।
पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान तथा व्यवस्थापन, स्थानीय पूर्वाधार अनुगमन तथा मूल्याङ्कन विशेषज्ञ यम नाथ गिरी ले प्रकृया पुर्याएर आएका पीडितहरूलाई राहत दिन प्राधिकरण तयार रहेको बताए। प्रक्रिया पुर्याउन केही झण्झटिलो भएपनि प्रक्रिया पुर्याएका पीडितहरूले अनुदान लिइसकेको जानकारी दिए।
वडा नम्बर २४ का वडा अध्यक्ष दिनेश कार्कीले गुठी भित्र बसोबास गर्ने भूकम्पपीडित, सगोलमै बसोबास गर्ने परिवार, गुनासो गर्दा पनि नाम ननिस्केका पीडितहरुका विषयमा सरोकारवाला पक्षसँग तत्कालै छलफल गरी पीडितहरूको माग सम्बोधन गर्न आफू तयार रहेको बताए।
सार्वजनिक सुनुवाई कार्यक्रमको अध्यक्षता गरेका मानवअधिकार सञ्जाल ललितपुरका संयोजक वशिष्ठ अधिकारीले जिल्लामा भूकम्प पुनर्निर्माण सम्बन्धी काममा सदाचार अपनाउन र भूकम्पपीडितहरूलाई अनुदान तथा राहत सम्बन्धी कार्य प्रभावकारी बनाउन कार्यक्रम आयोजना गरिएको बताए।
पुनर्निर्माणको गति सुस्ताइरहेको र भूकम्पपीडितहरुले खुल्ला आकाशमुनि कठ्यांग्रिएर बस्नुपरेको अहिलेको अवस्थामा सरोकारवाला भूकम्पपीडित र जनप्रतिनिधि बीच समन्वयकारी भूमिका खेल्नुपर्ने खाँचो रहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुर प्रतिनिधि दीपक प्रसाद घिमिरेले औंल्याए।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ