सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १० बैशाख २०८३ / Thursday, 23 April 2026

सुनौला हजार किताबको सुरुवात गर्दै ज्ञान विकास ,६ महिनाका बालबालिकालाई पनि पुस्तकको व्यवस्था

प्रकाशित समय: शुक्रवार, ०९ : ०१ बजे भदौ १५ गते



सुनौला हजार किताबको सुरुवात गर्दै ज्ञान विकास ,६ महिनाका बालबालिकालाई पनि पुस्तकको व्यवस्था

काभ्रे । गत वर्ष नेपालकै उत्कृष्ट सामुदायिक पुस्तकालय घोषित हुन सफल पनौतीको ज्ञान विकास पुस्तकालयले ११ औ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा आफ्नै सभाहलमा विविध कार्यक्रमको आयोजना गरेर मनाएको छ । विभिन्न संस्थाहरु सँग सहकार्य गर्दै विभिन्न सामाजिक कार्य समेत गर्दै आएको पुस्तकालयले १५ दिने पुस्तकालय व्यवस्थापन तालिम तथा सुनौला हजार किताबको उद्घाटन गरेको छ ।

 

बालबालिकको विद्यालय उमेर ५ वर्ष माथि मानिए पनि त्यस अघिको सिकाई झनै दिगो हुने भन्दै अष्ट्रेलियामा प्रयोग गरिएको पुस्तक नेपालमा पहिलो पटक ज्ञान विकास पुस्तकालयले पाइलट प्रोजेक्टको रुपमा शुरुवात गरिएको रिड नेपालका चिनीकाजी श्रेष्ठको भनाई छ । कलात्मक रुपमा तयार गरिएका उक्त पुस्तकहरु साढे ६ महिना देखि ६ वर्ष सम्मका बालबालिकाहरुलाई दिइन्छ । उनीहरुले उक्त पुस्तक हेरेर छोएर सिक्छन । जुन पुस्तकहरुमा छुँदा सम्बन्धित जनावरहरुलाई छोएको आभास हुने ।

 

जनावर कै आवाज निस्कने लगायतको विशेषता रहेको पुस्तकालयका अध्यक्ष ओमकृष्ण श्रेष्ठले जानकारी दिए । पछिल्लो समय बालबालिका मोवाइल केन्द्रीत भएको बताए । बालबालिकाले बिगारेको मोवाइल भन्दा मोबाइलले विगारेको बालबालिका खतारनाक हुने दावी गर्दै त्यसको विकल्पको रुपमा सुनौलो हजार किताब सुरुवात गरेको बताए ।

 

त्यसै गरी कार्यक्रममा सुनौलो किताबको उद्घाटन सँगै पनौती क्षेत्रको जानकारी दिने पुस्तकालयको परिचय पुस्तिकाको लोर्कापण गरिएको थियो । पुस्तकालय सँगै सामुदायिक सिकाइ केन्द्रको रुपमा समेत विकास हुँदै गरेको उक्त पुस्तकालयका लागि पनौती नगरपालिकाले आइसिटी सामग्री हस्तान्तरण गरेको थियो ।

 

कार्यक्रमको उद्घाटन गदै प्रमुख अतिथि पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले २०१२ सालमा स्थापना भएको ज्ञान विकास पुस्तकालयले पनौती क्षेत्रको पहिचान दिन सफल भएको बताए । व्यक्तिगत स्वार्थ विना सामाजिक कार्यमा लाग्ने जो कोही सफल हुने बताउँदै त्यसकै परिणाम स्वरुप पुस्तकालयले आफ्नो उचाइ कायम राख्न सकेको उल्लेख गरे ।

 

फरक विषयमा बोल्दै न्यौपानेले पनौती बजार क्षेत्रलाई सफा खानेपानीको व्यवस्थापनमा आफु लागिरहेको बताउँदै बृहत एकीकृत खानेपानीका लागि जिल्लाका तीन नै नगरले वार्षिक डेढ करोड तिर्ने गरेको र पनौती नगरले सम्मान जनक हिसाबले पानी उपयोग गर्न नपाए बिरोध गर्ने बताए । काम सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्छ यो हाम्रो दायित्व हो तर योजनाले पनौतीलाई बेफाइदाहुने कार्य गरेमा मेन लाइनको २४ मिटर पाइप जोडन दिँदैनौ, उनको भनाई थियो ।

 

पनौती वडा नं ७ का वाडाअध्यक्ष रामचन्द्र नास्नानीले बालबालिकाको खेलेर बिताउने समयलाई पुस्तकालयले राम्रो उपयोग गराएको बताउँदै बयस्कहरु समेत पुस्तकालयमा उपस्थिति भइ पुस्तक पढने कम्प्युटर चलाउने गरेको बताए ।

 

पनौती नगरका बरिष्ट प्रशासकीय अधिकृत इन्द्र प्रसाद अधिकारीले ज्ञान विकास पुस्तकालयकै कारण पनौती शहर पुस्तकालयको शहर भन्ने परिचय बनाएको बताए । पनौती नगर शिक्षा शाखा प्रमुख महेश्वर जंगमले पनौती छिटै साक्षर नगर घोषणा हुने बताउँदै त्यसमा पुस्तकालयको महत्वपूर्ण स्थान रहेको उल्लेख गरे । रिड नेपालका चिनीकाजी श्रेष्ठले पुस्तकालयका कार्यको चर्चा गर्दै पुस्तकालयले गरेका असल कार्यका कारण नै राष्ट्रिय स्तरमा परिचय बनाउन सफल भएको दावी गरे ।

 

स्थानीय समाज सेवी महेश कर्मचार्यले पुस्तकालय पुस्तकको भण्डारणमा मात्र सिमित नभइ सामाजिक कार्यमा सक्रिय हँदा यसको झनै उचाइ बढेको बताए । स्वागत मन्तव्य दिँदै पुस्तकालयका पूर्व अध्यक्ष तथा साहित्यकार सूर्य प्रसाद लाकोजूले पनौती कला,संस्कृति,प्राकृतिक वातावरणले मात्र नभइ साहित्यमा पनि सम्बृद्ध रहेको बताएका थिए ।

 

पुस्तकालय दिवसको अवसरमा पुस्तकालयले सप्ताह व्यापी रुपमा विभिन्न कार्यक्रमहरु गरेको थियो । जस अनुसार स्पेलिङकन्टेस्ट, चित्रलेखन प्रतियोगिता, निबन्धलेखन प्रतियोगिताको आयोजना गरेको थियो । स्पेलिङ कन्टेस्टतर्फ क्रमश सान्तव्ना पनौती बोर्डिङ तृतीय एस ओ एस,द्धितीय अरुणोदय र सामुदायिक प्रथम भएका थिए ।

 

चित्र लेखनमा नवरत्न बोर्डिङ सान्त्वना सूर्योदय तृतीय पनौती बोर्डिङ द्धितीय र नमोबुद्ध बोर्डिङ प्रथम भएका थिए , त्यसै गरी निबन्ध लेखन तर्फ सूर्योदय सान्वना तृतीय नमोबुद्ध द्धितीय अरुणेदय र काभ्रे बोर्डिङ प्रथम भएको थियो विजेता तथा विद्यार्थीहरुलाई प्रमाण पत्र तथा उपाहार सहित पुरस्कृत गरिएको थियो ।

 

सुविधायुक्त भवन रहेको पुस्तकालयले पुस्तकहरु सँगै आधुनिक विद्युतीय प्रविधिमा आधारित रहेर समेत सेवा प्रदान गरेको छ भने समुदायमा आधारित रहेर माटो परीक्षण,कृषि क्षेत्रमा विभिन्न कार्यक्रम, अनौपचारिक कक्षा संचालन स्वास्थ्य शिविर, छाडा कुकुर बन्ध्याकरण, स्वास्थ्य जानकारी शिविर, सांस्कृतिक कार्यक्रम लगायतका कार्य गर्दै आएको छ । त्यसै गरी पुस्तकालयले नेपालमै बस्दा वा विदेशमा सुरक्षित बसाइका विषयमा जानकारी दिन कार्यक्रम संचालन गर्न लागेको पुस्तकालयलका अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।