काठमाडौं, २२ चैत।नेपालमा पहिलो पटक टाइफाइडविरुद्धको खोप दिइन लागिएको छ । आगामी २५ चैतदेखि १८ वैशाखसम्म देशभरका करिब ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन लागिएको हो ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले १५ महिनादेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई एक मात्रा खोप दिन लागेको बताए । पछि १५ महिनाका प्रत्येक बालबालिकालाई नियमित खोप कार्यक्रममार्फत एक मात्रा खोप दिने उनको भनाइ छ ।अभियानको क्रममा टाइफाइड खोप स्थानीय तहको प्रत्येक वडामा तोकिएको विद्यालयहरूको खोप केन्द्रमा उपलब्ध हुने उनको भनाइ छ । विद्यालय नभएका वा कम भएका वडाहरूमा वाह्य खोप केन्द्र सञ्चालन गरिनेछ। देशभर खोप अभियानका लागि १० हजार स्वास्थ्यकर्मी परिचालन गरिने डा. लालको भनाइ छ ।
पाँच वर्षको तथ्यांकअनुसार नेपालमा वर्षेनी औसतमा चार लाख ५० हजार जनाभन्दा बढीमा टाइफाइड संक्रमण हुने अनुमान छ । तीन वर्षको तथ्यांकअनुसार पानी तथा खानाजन्य संक्रामक रोगहरूमध्ये तेस्रो र अस्पताल भर्ना हुने कारणहरूमध्ये यो रोग चौथो कारणमा रहेको छ ।यो रोगको संक्रमण सबै उमेर समूहमा हुने भए पनि १५ वर्षमुनिका बालबालिकालाई बढी असर गर्ने उनको भनाइ छ । खोपको प्रभावकारिताको अध्ययनले टाइफाइड खोपबाट यो रोगको संक्रमणमा उल्लेखनीय रुपमा कमी ल्याउन सकिने पुष्टि गरेको डा. लालको भनाइ छ ।
नेपालमा खोप लगाउनको लागि राष्ट्रिय खोप सल्लाहकार समितिले १४ अगष्ट, २०२० मा नै राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्न सिफारिस गरेको थियो ।विश्व स्वास्थ्य संगठनले समेत टाइफाइड खोपलाई नेपालसहित सबै टाइफाइड प्रभावित देशमा प्रयोगको लागि सिफारिस गरेको थियो । यो खोप अभियानसँगै टाइफाइड खोपको सुरुवात गर्ने नेपाल दक्षिण एसियामै पहिलो राष्ट्र हुने निर्देशक डा. लालले बताए ।
नेपालमा हाल दिन लागिएको खोप टाइफाइड कन्ज्युगेट भ्याक्सिन हो । यो विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको र यो विश्वका धेरै देशमा प्रयोग भइरहेको छ ।पछिल्लो समय एन्टिबायोटिकले समेत कम गर्न छोडेको भन्दै यो खोपले टाइफाइडविरुद्ध लड्न निकै महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।‘विगतमा टाइफाइड हुँदा दिइने एन्टिबायोटिकले अहिले काम गर्न छोडिसक्यो । नयाँ नयाँ एन्टिबायोटिक दिनुपर्ने अवस्था छ । खोपले गर्दा धेरै सुरक्षित हुनेछ ।’ निर्देशक डा. लाले भने ।
यो खोप गाभीले निःशुल्क रुपमा उपलब्ध गराएको हो । खोप अभियान सम्पन्न भएपछि यो राष्ट्रिय खोप अभियानमा समावेश गरिने परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले बताए ।खोप लगाइसकेपछि बालबालिकालाई आधा घण्टासम्म निगरानीमा राखिने दाहालको भनाइ छ । यो खोप लगाएपछि अन्य खोपहरूमा जस्तै केही सामान्य असर हुनसक्ने उनको भनाइ छ । ‘सुई लगाएको ठाउँमा रातो हुने, सुन्निने र दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने, हात गोडा तथा जोर्नीहरू दुख्ने जस्ता सामान्य लक्षण देखिन सक्छन् । त्यसका लागि खोप लगाइसकेपछि आधा घण्टासम्म निगरानीमा राख्छौं ।’ दाहालले भने ।
यस्ता सामान्य लक्षणहरु बिस्तारै आफैं ठीक भएर जाने उनको भनाइ छ । यो खोप मासुभित्र दिइने र यसले वयस्क र बालबालिकामा दीर्घकालीन रोग प्रतिरोधात्मक क्षमता प्रदान गर्ने दाहालको भनाइ छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ