काभ्रे जिल्लाकको शैक्षिक सामजिक,राजनीतिक क्षेत्रको चर्चित नाम हो रघुनाथ हुमागाई । २०२८ असोज २८ गते पिता लक्ष्मी प्रसाद तथा माता देव माईका कान्छा छोराको रुपमा जन्मिएका हुमागाई हाल पनौती न.पा वडा नं ९ सुन्थान निवासी हुन ।
उनले पञ्चायती व्यवस्था विरोधी अन्दोलनमा विद्यार्थीको हैसियतबाट विद्यालय बन्द गराएको आरोपमा तत्कालिन पञ्चायती सरकारले टाउकाको मूल्य तोकेपछि भूमिगत जीवन बिताएका थिए । त्यस पछिको सबै राजनीतिक आन्दोलनमा सक्रिय सहभागी बनेका हुमागाई २५ वर्ष देखि शिक्षण पेसामा संलग्न छन् ।
हाल नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका उपसभापति रहेका उनको पत्रकारिता क्षेत्रमा २ दशक लामो अनुभव रहेको छ । नेपाल टे«ड युनियन कङ्ग्रेस काभ्रे जिल्ला समितिको १ कार्यकाल सचिव तथा हाल तेस्रो पटक संघिय प्रतिनिधि निर्वाचित हुमागाई जिल्ला सामाजिक सेवामा रहँदा नेपालका अधिकांश भूगोल संग परिचित छन् ।
जेठ २९ देखि ३१ गते सम्म हुन लागेको ट्रेड युनियन काङ्ग्रेस केन्द्रीय समितिको अधिवेशनका लागि केन्द्रिय सदस्यको उमेदवारी घोषणा गरेका हुमागाई सँग उनले घोषणा गरेको उमेदवारी र सामाजिक जिवनका विषयमा उनी सँग हाम्रो मिडिया सञ्चार प्रतिनिधीले गरेको कुराकानीको सार यहाँ प्रस्तुत गरिन्छ ।
विभिन्न पेसा सँग सम्बन्धित टे«ड युनियनको सङ्ख्या धेरै भएको कारण कर्मचारीले पेसा भन्दा पनि अन्यत्रै बढि समय दिए भन्ने आरोप छ नी ?
पेसागत हकहितको लागि, पेसामा सम्बन्धितहरु विभिन्न क्षेत्रमा उपस्थिति अनिवार्य रहन्छ । ती क्षेत्रमा उपस्थिति विना कसरी मजदुरी गर्नेहरुको समस्या निराकरणको प्रयास नै गर्न सकिन्छ र ? ती र त्यस्ता स्थान समयमा उपस्थितिको अनिवार्यता भए पनि आफ्नो पेसा स्थललाई नै बाधा पुर्याउने गरी त्यस्ता कार्य भएको छ जस्तो लाग्दैन । पछिल्लो समय सबै जसो कार्यालयहरुमा बायोमेट्रिक्स हाजिरी प्रणाली जडान छन् । त्यसको अनुगमन गरे पनि पुष्टि हुन्छ की ट्रेड युनियन आन्दोलनमा संलग्नहरु सबैको हकहितमा विषयमा चिन्ता सँगै आफ्नो दायित्व प्रति प्रतिवद्ध छन् भन्ने ।
कर्मचारीहरुले त ट्रेडयुनियनहरुलाई सिमित स्वार्थ पूर्तिका लागि मात्रै लागेको व्यक्तिगत स्वार्थ भन्दा माथि उठन नसकेको आरोप लगाएको पनि सुनिन्छ, यसमा के भन्नुहुन्छ ?
श्रम शक्ति नै राष्ट्रिय शक्ति हुने भएकोले श्रमिकहरुको सम्मान नगरिकन व्यक्तिगत स्वार्थमा लाग्यो भने कसरी श्रमिकहरुको सम्मान हुन सक्छ ? समग्र पेसागत हकहितमा संलग्न मानिस व्यक्तिगत स्वार्थमा लाग्यो भन्ने आरोप गलत हो जस्तो लाग्छ । २००३ सालमा गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा शुरु भएको यस संस्थाको गौरवशाली इतिहास छ । राज्यलाई कल्याणकारी बाटोमा हिडाउनका लागि नीति निर्माणको एक हिस्सा जिम्मेवारी बहन गरेको युनियन माथि लाग्ने यो आरोप मात्र हो ।
संघियता कार्यान्वयन सगै स्थानीय तहलाई विभन्न विषयमा अधिकार प्रदान गरिएको छ । यस्तो अवस्थामा ट्रेड युनियनहरु अझै चनाखो हुनुपर्नेमा पछिल्लो समय एक ट्रेड युनियनको विषयमा चर्चा शुरु भएको छ यसलाई कसरी लिनुहुन्छ ?
संघियता कार्यान्वयन सँगै स्थानीय तह बलिया भएका छन् । उनीहरु आफैले मजदुर कर्मचारीलाई लक्षित गरी विभिन्न नीति नियम समेत तयार पार्ने काम जारी छ । ती नीति नियम कति कर्मचारीको हितमा छन् भने कति अहितमा ती र त्यस्ता विषयमा ट्रेड युनियनमा संलग्न चनाखो हुन जरुरी छ ।
अहिले राष्ट्रमा झन्डै २ तिहाइको नजिक पुगेको दलले राज्य संचालन गरिरहेको बेला यस्ता विषयमा झनै बढि चासो दिन जरुरी छ । जुन पछिल्लो समय एक ट्रेड युनियनको चर्चा छ यो मजदुर कर्मचारीलाई कमजोर बनाउने योजना हो । एक पक्षका कर्मचारीलाई नै सहभागी गराई आफ्नै अनुकुलको, एक पक्षीय हितमा हुने गरी नीति नियम तयार गर्न गरिएको षडयन्त्र हो । ट्रेड युनियन काङ्ग्रेस राष्ट्रिय समिति मजदुरको पक्षमा जस्तो सुकै मूल्य चुकाएर पनि सधै यसको विपक्षमा उभिन्छ ।
गत निर्वाचनमा उपविजेता बनेको नेपाली काग्रेसको सुभेच्छुक संस्थाको रुपमा रहेको ट्रेड युनियन काङ्ग्रेस लोकतन्त्र माथि विश्वास गर्ने मजदुर, कर्मचारीहरुको संगठन भनेर बुझिन्छ , पेसागत हकहितका पक्षमा यो संगठन पनि कमजोर रहेको आरोप लाग्ने गरेको छ ? के साँच्चै आवाज कमजोर भएकै हो ?
लोकतान्त्रिक मूल्य, मान्यता र संस्कृतिलाई आत्मसाथ गर्ने श्रमजीवीहरुको सशक्त एव्म प्रवाभशाली टे«ड युनियन भनेर यसले परिचय बनाउन सफल भएको छ । यो लोकतन्त्र माथि विश्वास राख्ने श्रमिकहरुकोे संगठन हो र यसले सधै लोकतान्त्रिक विधि नै अङ्गिकार गर्छ । श्रमजिवीहरुको आकाङ्क्षा र चाहनाको आत्मसात गर्दै न्याय, समानता, र स्वतन्त्रताको पक्षमा सधै शान्ति पूर्वक आवज उठाउने गर्छ । शान्तिलाई भंग गदै लोकतान्त्रिक पद्धति बिनै अधिकार खोज्नेहरुको आरोप हो । ट्रेड युनियनको भूमिका, आवाजमा केही कमी भएको छैन ।
तपाई त रेडक्रस मार्फत स्वतन्त्र व्यक्तित्वको रुपमा परिचय बनाउन सफल मान्छे फेरि किन राजनीतिक आस्था बोकेको एक संगनको केन्द्रीय स्तरमा सहभागी बन्ने सोच राख्नुभयो ?
रेडक्रस भनेको स्वतन्त्र विचार धाराको एक पवित्र मानवीय संस्था हो । जहाँ मन्दिर बाहिर जुता चपल फुकालेर मन्दिर प्रवेस गरे जस्तै रेडक्रममा समेल हुँदा आस्थालाई बाहिरै राखिन्छ । जहाँ विशुद्ध मानव सेवाको भावना मात्र हुन्छ । मानव सेवामा संलग्न मानिसले रेडक्रस जस्तो संस्थामा प्रवेश गर्दा स्वतन्त्ररहनु अत्यावश्यक रहन्छ तर उसको समग्र जीवन राजनीति बाट अलग भने हुँदैन ।
रेडक्रसमा मेरो परिचय कुनै आस्था संग नजिक छैन । तर मेरो व्यक्तिगत जीवन मूल पेसा कुनै आस्था संग नजिक छ । मैलै पेसामा लाग्ने श्रमजिवीहरुको लागि आवज उठाउनु र उनीहरुको हकहितमा काम गर्नु मेरो जिम्मेवारी हो । संस्थामा काम गर्ने शैलिका विषयमा रेडक्रसबाट केही ज्ञान हासिल गरेँ जसलाई म ट्रेड युनियनमा पनि प्रयोग गर्न चाहन्छु । त्यसैले श्रम भनेको पनि मानव सेवा हो । मैले यस अघि पनि ट्रेड युनियनको जिल्ला समितिमा २ दशक देखि काम गरि अनुभव बटुली सकेको छु । त्यसलाई केन्द्रीय तहसम्म पुर्उँने लक्ष्य मात्र हो ।
ट्रेड युनियन काङ्ग्रेसको केन्द्रीय समितिमा तपाईको उमेदवारी किन ?
समग्र श्रमजिवीहरुको पेसागत हक हितका लागि, समय सापेक्ष अधिकार संरक्षणका लागि, राज्यपक्षबाट श्रमिकको पक्षमा बन्ने नीति नियम मूल्याङ्कन गरी आवश्यक निर्णय लिनका लागि, समग्रमा जीवनमा अहिले सम्म हासिल गरेको ज्ञान, सिप, क्षमता र दक्षताको प्रयोग गर्नका लागि ।
केन्द्रीय समितिमा आफुलाई विजयी गराउने ढुक्क हुनुहुन्छ ? त्यसका लागि के के गर्नुभएको छ ?
म त आशावादी छु । अहिले सम्म ट्रेड युनियनमा संलग्न भएर जति कार्यहरु गर्न सफल भएको छु, देशभरका युनियन कर्मी सँग सम्बन्ध विस्तार लगायत ट्रेड युनियन आन्दोलनमा संलग्न छु । रेडक्रस जस्तो पवित्र संस्थामार्फत मानवसेवाको अवसर पाएको छु, ३ दशक देखि प्रेस युनियन तथा पत्रकार महासंघ संग पनि अवद्ध छु । यी विषयहरुले नै मलाई विजयी गराउँछ भन्ने विषयमा म ढुक्क छु ।
विजयी हुनुभएको खण्डमा तपाईको भूमिका के रहने छ ?
वर्तमान राजनीतिक परिस्थिति श्रमिक वर्गका लागि चुनौती पुर्ण रहेको छ । यो समयमा चनाखो नहुने हो भने श्रमिकक विषयमा जस्तोसुकै नीतिहरु निर्माण हुन सक्छन । त्यसैले जुनसुकै बेला श्रमिक आन्दोलनको जरुरत पर्न सक्छ । ट्रेड युनियको अधिकार नै यति खेर संकटम पुग्ने लागेको चर्चा चल्न थालेको छ । जसका लागि पेसामा संलग्न सबै क्षेत्र, उमेर तथा परिवेशका श्रमिकहरुलाई गोलबद्ध गराउनु वर्तमान आवश्यकता हो ।
ट्रेड युनियन काङ्ग्रेसका पनि आफ्नै विधान तथा उद्देश्य रहेको छ । यी सबै विषयको उचित प्रयोग र संरक्षण विजयी पश्चातका मुल कार्यहरु हुने छन् ।
अन्यमा,
समग्र श्रमिकहरुको पेसागत हकहितको पक्षमा ट्रेड युनियनको उपस्थिति नरहने हो भने श्रमिकहरुको पेसा संकटमा पर्न सक्छ, विभिन्न पक्षबाट विभिन्न अल्झनका अवस्थाहरु सृजना हुन सक्छन् । यसका लागि ट्रेड युनियन काङ्ग्रेस सदैव चनाखो रहने छ ।
उत्पन्न परिस्थिति अवस्थाको सामना गर्दै पेसाको सुरक्षा गर्ने उद्देश्य सहित केन्द्रय समिति सदस्य पदमा उमेदवारी घोषणा गरेको छु , जसका लागि सम्पूर्ण ट्रेडयुनियन कर्मीसाथीहरु सँग सहयोगको अपिल गर्दछु । र विचार राख्ने मौका दिनु भएकोमा मिडिया सञ्चार डट कमलाई पनि धन्यवाद दिन चाहन्छु ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ