सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १० बैशाख २०८३ / Thursday, 23 April 2026

धरान–चतरा सडक समयभित्रै सम्पन्न गर्नुहोस्-मुख्यमन्त्री डोरमणि पौडेल

प्रकाशित समय: बुधवार, ०७ : ०१ बजे फाल्गुन १६ गते



धरान–चतरा सडक समयभित्रै सम्पन्न गर्नुहोस्-मुख्यमन्त्री डोरमणि पौडेल

हेटौँडा, १६ फागुन (रासस) ः प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आज धरान–चतरा सडक आयोजनाको कार्य निर्धारित समयभित्रै सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभयो ।

 

हेटौँडा–धरान–चतरा सडकको हेटौंडा–राईगाउँ खण्डको निरीक्षण गर्ने क्रममा मन्त्री पौडेलले सडकले मकवानपुरको मात्र नभई सिंगो प्रदेशको विकासमा महत्व राख्ने बताउनुभयो ।

 

निरीक्षण टोलीमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल, प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहाल, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी र जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल हुनुहुन्थ्यो ।

 

पछिल्लो समय धरान–चतरा सडकको काम तीव्रगतिमा भइरहेको छ । तीन वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्यका साथ ठेकेदारलाई कामको जिम्मा दिइएको छ ।

 

यसैगरी मन्त्री पौडेलले पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा आजदेखि शुरु भएको साँस्कृतिक महोत्सवको उद्घाटन गर्दै महोत्सवले पूर्वी मकवानपुरको विकट स्थानमा आर्थिक कारोबार बढाउने बताउनुभयो ।

 

उहाँले भन्नुभयो, “यस्ता महोत्सवहरूले विकट स्थानका किसानको खेतीलाई मूल्यमा परिवर्तन गर्छ ।”

 

बुद्ध युवा क्लब हात्तीसुँडे तथा सहयात्री बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शुरु भएको महोत्सवमा १५० स्टल रहने आयोजकले जनाएको छ ।

 

महोत्सवमा रु ६० लाख खर्च हुने र रु ८० लाख देखि एक करोडसम्मको कारोबार हुने बताइएको छ ।

 

महोत्सवबाट बचेको रकमबाट बकैया गाउँपालिकामा पार्क निर्माण गर्नुका साथै सामाजिक क्षेत्रमा खर्चिने जनाइएको छ । महोत्सवमा बकैया गाउँपालिकासहित स्थानीय संघसंस्थाको सहयोग रहेको संयोजक थिङको भनाइ छ ।