मनाङ, २२ असार।हिमाली जिल्ला मनाङमा बाढीपहिरोका कारण पानीजन्य रोगको सङ्क्रमण बढ्नसक्ने चेतावनी दिइएको छ ।
अस्पतालमा आजभोलि पानीजन्य रोगको बिरामी आउने गरेको जिल्ला अस्पताल मनाङका डाक्टर प्रतिभा गौलीले बताउनुभयो । डा गौलीले भन्नुभयो,“बाढीपहिराले खाने पानीका पाइप र मुहान बगाएपछि जिल्लामा शुद्ध पिउने पानीको अभाव भएको छ । आकाशे पानीको भरमा बस्नुपर्ने बाध्यता छ । बाढीपहिराबाट विस्थापित भएका नागरिक एउटै कारागार भवनमा ३०० जना बसेका छन् । त्यस कारणले कोभिड– १९ को मात्र नभएर पानीजन्य रोग फैलिने होकी भन्ने हाम्रो चिन्ता छ ।”
अस्पतालमा आजभोलि पानीजन्य सम्बन्धित रोगका बिरामी धेरै आउने गर्दछन् । “अहिले नै पानीजन्य रोगको सङ्क्रमणले महामारीको रुप त लिएको छैन तर, यस्ता सरुवा रोगदेखि सचेत हुनुपर्दछ ।” यो वर्ष कोरोना महामारीको उच्च जोखिम त्यसमाथि बाढीपहिराले पानीजन्य रोगको सङ्क्रमण बढ्नसक्ने भन्दै डा गौलीले जिल्लावासीलाई सचेत रहन आग्रह गर्नुभयो ।
उहाँ भन्नुहुन्छ,“बाध्यतावस जिल्लामा बाढीपहिरोबाट विस्थापित नागरिक एकै ठाउँमा बसेका छन् । तर, बस्दा सरसफाइदेखि लिएर खानेपानीलाई उमालेर हुन्छ कि अन्य शुद्विकरणका उपाय अपनाएर मात्र पिउन जिल्लावासीलाई अनुरोध गर्दछु ।” वर्षात् शुरु भएसँगै ब्याक्टेरिया, भाइरस तथा जीवाणु बढी सक्रिय हुने गर्दछ । गर्मी एवं वर्षायाममा रोगको प्रकोप अन्य यामको तुलनामा बढ्ने गर्दछ । जसले गर्दा यो मौसममा झाडापखला, जण्डिस, भाइरल ज्वरो, डेङगु, आँैलौ, सर्पदंशलगायतका बिरामीको सङ्ख्या बढ्ने गरेको चिकित्सकको भनाइ छ ।
जिल्लामा अबिरल वर्षापछि आएको बाढीपहिराले विद्युतीय क्षेत्रमा पु¥याएको क्षतिबाट अस्पताल प्रभावित भएको छ । अस्पतालमा प्रयोगशाला सञ्चालनमा कठिनाइ भएको पनि डा गौलीले बताउनुभयो । अस्पतालमा भएको जेनेटर दुई दुईघण्टा मात्र खोलेर प्रयोगशाला सञ्चालन गर्नुपरेको डा गौलीले बताउनुभयो ।
यस्तै जिल्लामा बाढीपहिरो पश्चात् आउनसक्ने विभिन्न खालका महामारीलाई मध्यनजर गर्दै जनस्वास्थ्य कार्यालय मनाङले काम अगाडि बढाएको छ । जिल्लामा बाढीपहिरो गएपछि क्लोरिन ट्याब्लेटको माध्यमबाट खानेपानीलाई शुद्धीकरण गरिएको जनस्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले बताउनुभयो ।
उहाँले भन्नुभयो,“अहिले यहाँका नागरिक आकाशे पानी खाएर बस्न बाध्य छन् । आकाशे पानी खाएर बस्दा स्वास्थ्यमा असर पर्ने भएकाले पानीमा क्लोरिन ट्याब्लेटको माध्यमबाट पानी शुद्धीकरण गरेका छौँ, यसका साथै पानीजन्य रोगबाट सङ्क्रमण बढ्न सक्ने भन्दै सूचनामूलक सन्देश दिँदै हिँडेका छौँ ।”
मनाङका विभिन्न स्थानमा भौतिक संरचनामा ठूलो क्षति हुने गरी बाढीपहिरो गएको छ । जिल्लामा बाढी पछि आउन सक्ने पानीजन्य रोगको जोखिम भएकाले सबैले सावधानी अपनाउन जनस्वास्थ्य कार्यालय मनाङको आग्रह छ । यस परिस्थितमा उद्धार, राहतका कार्यमा जुट्दा कोरोना विरुद्धको स्वास्थ्यका मापदण्ड नअपनाउँदा, सफा पिउने पानी नपाउँदा, लामखुट्टेबाट बच्न नसक्दा, उपयुक्त गाँस र बाँसको प्रबन्ध राम्रो नहुँदा झनै स्वास्थ्यसम्बन्धी विभिन्न समस्या आउन सक्ने भएकोले विशेष सावधानी अपनाउनु आवश्यक रहेको जिल्ला जनस्वास्थ्य प्रमुख आचार्य बताउनुहुन्छ ।रासस
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ