एजेन्सी । नेपालीलाई रुसी सेनामा पठाउने कार्यमा नेपाली सेनाका पूर्व सैनिकको समेत संलग्नता देखिएको छ। जिल्ला प्रहरी परिसर काठमाठडौँले पक्राउ गरेको १२ जनाको समूहमा पूर्व सैनिक समेत रहेका छन्।
उदयपुरको कटारीका ४२ वर्षीय हरिबहादुर विश्वकर्मा नेपाली सेनामा कार्यरत थिए। उनले नेपाली सेनाबाट राजीनामा दिएर रसियामा सैनिक सेवामा पठाउने कार्यमा संलग्न रहेको खुलेको हो।
उनले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका बहालवाला कर्मचारीका पासपोर्ट संकलन गरेर रसियाको सेनामा पठाउने गरेको पाइएको प्रहरीले जनाएको छ। केही बहालवाला प्रहरीहरूको पासपोर्ट समेत प्रहरीले बरामद गरेको छ।
हरिले २ पटकमा १८ जनालाई रसिया पठाएको खुलेको छ। एकपटक ११ जनाको समूह र अर्कोपटक ७ जनाको समूह गरी रसिया पठाएको उनले प्रहरीसमक्ष बयान दिएका छन्।
हरिबहादुरले पठाएका तर रसियाबाट फर्किएकामा सशस्त्र प्रहरी समेत रहेका छन्। सशस्त्र प्रहरीका एक जना सहायक निरीक्षक फर्किएर आएका हुन्। काठमाडौँका विभिन्न प्रहरी कार्यालयमा काम गरिरहेका तर यो गिरोहमार्फत रसिया सेनामा जान पासपोर्ट जिम्मा लगाइसकेका प्रहरीहरू समेत रहेको खुलेको काठमाडौँ प्रहरी परिसरका एक अधिकारीले जानकारी दिए।
उनीहरूले रसिया सेनामा पठाउँदा १० देखि १२ लाख रुपैयाँ लिने गरेको पाइएको छ। हरिले भिजिट भिषा र आमन्त्रण कार्ड उपलब्ध गराइदिए वापत शोभराज भन्ने व्यक्तिलाई अमेरिकी डलर १८५० दिने गरेको र सेटिङ, टिकेटको लागि थप २ लाख भारतीय रुपैयाँ दिने गरेको खुलेको छ।
यसरी रसिया पुगेका ११ जना फर्किएको गिरोहका सदस्यबाट खुलेको छ। सुरुमा ५/१० जनाको समूहबाट रसिया सुरु गरेका यी व्यक्ति तथा कन्सलटेन्सीहरूले हाल विज्ञापन खोलेरै अन्तर्वार्ता समेत सञ्चालन गर्ने गरेको पाइएको छ।
रसियामा राम्रो तलब सुविधा हुन्छ, ग्रिनकार्ड चाँडो बन्छ, जानको लागि ७ लाख रुपैयाँ लाग्छ र मासिक २ लाख रुपैयाँ कमाई हुन्छ भनी प्रचारप्रसार गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो।
यसरी विज्ञापन देखेपछि सम्पर्कमा आएका युवाहरूलाई एजेन्टले जम्मा गरी ५/१० जनाको समूह बनाई भिसाको प्रक्रिया गर्ने गरेको प्रहरीले जनाएको छ।
एजेन्टले जम्मा गरेका पासपोर्ट प्रज्वल र उनका सहकर्मीले जम्मा गरेर रसियन दूतावासको अनलाइन फारम भर्ने गरेको पाइएको छ। प्रहरीका अनुसार पासपोर्टसँगै पेश गर्नु पर्ने आमन्त्रण पत्र अनुप दनुवारले तयार गर्ने गरेका थिए।
उनीहरूले गैरकानुनी रुपमा नेपालबाट भारत हुँदै कसैलाई हवाईमार्गबाट खाडीका देशबाट र कसैलाई नेपालबाट भारत हुँदै स्थलमार्गबाटै रसिया पुर्याउने गरेको खुलेको छ।
पक्राउ परेका मध्ये दुई जनाको साथबाट ४३ थान राहदानी समेत बरामद भएको छ। सुजाता दाहालको कार्यालयबाट २७ थान र ईश्वर अधिकारीको कार्यालयबाट १६ थान पासपोर्ट बरामद भएको हो।
यस्तै, सुजाताको कार्यालयबाट १४ लाख १८ हजार ५ सय रुपैयाँ र ईश्वरको कार्यालयबाट १३ लाख ४२ हजार रुपैयाँ बरामद गरेको छ।
पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका ६ का ४२ वर्षीय हरिबहादुर विश्वकर्मा, काठमाडौंको जोरपाटीका २७ वर्षीय सन्तोष रोका, सिन्धुपाल्चोकको इन्द्रावती २ का २३ वर्षीय मनिष न्यौपाने, काठमाडौं महानगरपालिका १६ का २३ वर्षीय रोजन महर्जन, बुढानिलकण्ठका ३१ वर्षीय क्षितिज गिरी र सिराहाको गोलबजारका १९ वर्षीय दिपेन परियार रहेका छन्।
यस्तै काभ्रेपलान्चोको सल्ले भुम्लु १ का २९ वर्षीय सुबास लामा, चितवनको राप्ती नगरपालिका १ का २५ वर्षीय गोकर्ण अर्याल, बारको जितपुर उपमहानगरपालिका २ का २४ वर्षीय सन्तोष नेपाल, ओखलढुंगाको मानेभञ्ज्याङ ६ की २५ वर्षीया सुजता दाहाल, लमजुङको दोर्दी गाउँपालिका २ का ३५ वर्षीय ईश्वर अधिकारी र दाङको घोराही उपमहानगरपालिका ८ का ३८ वर्षीय द्रोणा डाँगी रहेका छन्।
उनीहरूलाई बुधबार प्रहरीले सार्वजनिक गरेको छ। यसरी रसिया सेनामा पठाउने अन्य गिरोहको बारेमा पनि अनुसन्धान भइरहेको काठमाडौं परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलले बताए।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ