सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, १६ बैशाख २०८३ / Wednesday, 29 April 2026

सरकार ठीक ठाउँमा ल्याउन काङ्ग्रेस कम्मर कसेर लाग्ने-नेता पौडेल

प्रकाशित समय: शुक्रवार, ०१ : ५० बजे माघ ४ गते



सरकार ठीक  ठाउँमा ल्याउन काङ्ग्रेस कम्मर कसेर लाग्ने-नेता पौडेल

चितवन,  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र, राष्ट्रियता, सुशासन, शान्ति सुरक्षा र विकासका सवालमा सम्पूर्ण पार्टी एक भएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

 

प्रेस युनियन चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले जनताका समस्याहरु देखिएका ठाउँमा काङ्ग्रेसले आवाज उठाउने बताउनुभयो । उहाँले सरकार ठीक बाटोमा आउँदैन भने ठीक ठाउँमा ल्याउन काङ्ग्रेस कम्मर कसेर अगाडि बढ्ने बताउनुभयो ।

 

उहाँले भन्नुभयो, “जनताका आवाजलाई सधैँ दवाउन सकिदैन, देशका समस्यामा लापरवाही गर्न पाइदैन र त्यसका लागि प्रतिपक्षले भूमिका निर्वाह गर्छ ।” वरिष्ठ नेता पौडेलले भन्नुभयो, “देशका समस्यामा लापरवाही भए जनताले पनि आफ्नो तर्फबाट आवाज उठाउँछन् र सरकारलाई सही बाटोमा हिँडाउनलाई जवरजस्ती प्रयास हुन्छन् ।” दूरदराजका जनताले पनि स्वास्थ्य सुविधा पाउनुपर्छ भन्ने डा गोविन्द केसीका मागप्रति सरकारले वेवास्ता गरेको बताउँदै उहाँले भन्नुभयो, “दूरदराजमा रहेका जनतालाई पनि गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त हुनु पर्छ ।

 

संविधानले समाजवाद उन्मुख व्यवस्था भनेको छ । त्यो अनुरुप सबै विपन्न जनताले सेवा पाउनुपर्छ भन्ने उहाँको मागलाई सरकारकाले वेवास्ता गरेको छ ।” उहाँले अगाडि थप्नुभयो, “ त्यो संविधान विपरित पनि छ ।” गिरिजाप्रसाद श्वासप्रश्वास केन्द्र र सुशील कोइराला क्यान्सर अस्पताललाई पनि सरकारले लगभग विघटन गर्न लागेको भन्दै उहाँले भन्नुभयो, “सरकार दुई वटा अस्पताल खारेजी गर्न उन्मुख हुँदैछ ।” वाइड बडी, सुनकाण्ड, भ्रष्टाचारका काण्ड अगाडि आइरहेको भन्दै उहाँले सरकार यस्ता घटनाको ढाकछोप गर्न लागेको आरोप लगाउनुभयो ।

 

पार्टीभित्रको विवाद मिलेको हो भन्ने प्रश्नमा नेता पौडेल पार्टीभित्र केही कुरामा फरक मत भई नै रहने बताउनुभयो । उहाँले भन्नुभयो, “केही कुराहरु नेतृत्वको गतिविधलाई मन नपरेको हुन सक्छ । ती विवाद हुँदाहुँदै पनि पार्टी अहिलेका लोकतन्त्र, राष्ट्रियता र सुशासनको सवालमा एक हुन्छ ।” महासमिति बैठकले एकताको सन्देश दिएको बताउँदै उहाँले भन्नुभयो, “त्यो कुरा तलसम्म आउनुपर्छ । लोकतन्त्र र मुलुकको रक्षा गर्नु काङ्ग्रेसको दायित्व हो ।”